10 बर्ष पछिको Nepal !

20130509-111055.jpg

कुन्दाजीको सपना पूरा होस्
पुरानो टिम एक ठाम- शैली बस्नेत, म, कनकमणी दिक्षित र किरन नेपाल

२०६९ फागुणदेखि साप्ताहिक रुपमा चोलो फेर्न गैरहेको हिमाल पाक्षिकको घोषणा कार्यक्रम शंकर होटलमा आयोजन गरिएकोथियो । एक दशक बढी पाक्षिक हिमालले खोज, अनुसन्धान, सर्वे,  विश्लेषण र समाज, राजनीतिको अन्तरकुना खोतल्ने म्यागेजिनकारिताको जुन बाटो कोरेकोथियो त्यसलाई केहि परिमार्जन गर्न खोजिएको यस कार्यक्रममा सबै ठूलाबडाहरु आमन्त्रित थिए । नेपालको पहिलो ब्यावसायिक खबरपत्रिका यसले आफ्नै मानक तोड्दै र एकछत्र राज गरिरहेको स्थानबाट एक कदम अगाडि बढि साप्ताहिक खबरपत्रिकामा उक्लने निर्णय गरेको कार्यक्रममा सुनाइएकोथियो । ‘नयाँ नेपालको नयाँ हिमाल ‘को रुपमा अनावरण गरिएको पहिलो अंकमा दश बर्षपछिको जाजल्वयमान नेपालको परिकल्पना सहितको आवरण पस्किएको हिमालमा सकारात्मक समाचारको प्रधानता थियो ।
कुनै बेला चलेको विकास पत्रकारितापछिको सकारात्मक समाचार पस्कने यस प्रवृत्तिलाई हिमाल साप्ताहिकले पनि समात्न खोजेको देखिन्छ ।

समाजमा हरेक घट्ना र प्रवृत्तिको अनेकन पाटा भएतापनि मुख्य त्यसलाई दुई भागमा वर्गीकरण गर्न सकिन्छ । ् सकारात्मक र नकारात्मक । हिमालले समाजको एउटा पाटोलाई बढाउने र अर्को पाटोलाई त्यति ध्यान नदिईने लेखन प्रवृत्तिलाई  पक्रन खोजेकोछ । यस्तो लेखनमा नकारात्मकतालाई सतहमा ल्याईदा त्यसले नराम्रो असर पार्छ भनि ब्याख्या गरिने हुनाले सकारात्मक समाचारलाई प्रधानता दिईने गरिन्छ । यसलाई केहिले अवास्तविक जर्नालिज्म पनि भन्ने गरेकाछन् ।
नकारात्मकताको जग बलियो रहेको नेपाल जस्तो देशमा यो पत्रकारिताले समस्याहरुलाई बाहिर ल्याउन एक खालको बन्ध्याकरण गर्ने हुनाले यसले राम्रो भन्दा घातक परिणति दिने त होईन भनि घोत्लिनु चाहि पर्छ ।  देशैभर चलेको पहिचानको राजनीतिले ल्याएको बवण्डरले समाज ध्रुबीकरणको डीलमा उभिईरहेकोछ । पहिचानवादीहरु एकापसमा शीतयुद्ध लडिरहेकाछन् । तिनका कुण्ठाहरु विभिन्न ईस्यु मार्फत उजागर हुदैं प्रस्फुटन भैरहेकाछन् ।
यसले देश विकास अवरुद्ध पार्छ, बहुसाँस्कृतिक समाजलाई खल्बल्याँउछ भनि समाचार कक्षले यस्तो समाचार, टिप्पणी र विश्लेषणलाई कर्नरमा राख्ने सम्पादकिय नीति ल्याउन सक्छ, सकारात्मक पत्रकारिता अभ्यास मार्फत जुन साप्ताहिक हिमालले समात्न खोजेकोछ । यसमा अर्काे भयंकर गल्ति हुने संभावना पनि त्यत्तिकै छ । मानिलिऊ सम्पादकिय टिमले पहिचान हैन वर्गीयता प्रमुख हो भन्दै पहिचानको ईर्दगिर्द घुम्ने मुख्य इस्यु किल गर्दे वर्गीयतालाई मात्र सकारात्मक समाचारको रुपमा बुझी पस्कन थाल्यो भने त्यसले झन बढी नकारात्मकता जन्माउने डर रहन्छ । त्यस्ले एउटा ठूलो समूहको
कुण्ठा, आक्रोश , पीडा र समस्यालाई निकास नदिने हुनाले झन उकुसमुकुस गराउने डर रहन्छ । र, कालान्तरमा गई त्यसले विस्फोटनको रुप लिन सक्दछ । जाहिर छ,  त्यो पनि एउटा सामाजिक विखण्डन निम्त्याउने कारण बन्न सक्दछ ।
त्यसैले सुन्दा सकारात्मक समाचारलाई प्रमोट गर्ने समाचार लेखनले केहि पर सम्म सुखद परिणाम दिएको जस्तो देखिएतापनि त्यसले कालान्तरमा राम्रो गर्न नसक्ने संभावना बढी नै रहन्छ ।

सकारात्मक, राम्रो, उत्तम जति मिठास सुनिन्छ, त्यति नै त्यसलाई प्राप्त गर्न अख्तियार गरिने तिगडमले अर्को पक्षलाई पार्ने प्रभाव समाजको यस्तो छुटाउनै नमिल्ने तत्व हो, जहाँ  लेखकको नििरपेक्षताको कामै छैन । पत्रकारिता लेखनले त्यसमा सापेक्षता खोज्छ, खोज्छ । अन्यथा सुख सयल रोज्न तिगडम गर्ने केहि पात्रले मात्र यस्ता लेखनको फाईदा उठाउने डर रहन्छ, जसले समाजमा झन बढी हिंसा पैदा गर्ने डर रहिरहन्छ ।

स्वतन्त्रता, लोकतन्त्र पत्रकारिताको आधारभूत तत्व त्यसै भनिएको होईन । निष्पक्ष भनिएतापनि पत्रकारिता कहिल्यै निरपेक्ष रहन सक्दैन । कुनै मुद्दामा उसको सापेक्षता अनिवार्य जस्तै रहन्छ । लोकतन्त्रको रखवारीमा के पत्रकारिता तथस्त रहेर बस्न सक्छ ? हो, यस्तो अवस्थामा सकारात्मक पत्रकारिता  लेखनले अचुक औषधिको काम गर्देन । समाज अध्ययनका समग्र पाटालाई समेट्न सक्दैन । त्यसरी साँगोपाँगो अध्ययन गर्न नसकेपछि त्यो एकांगी हुन्छ । अपुरो हुन्छ । त्यसबाट निकालिएका र प्रशोधन गरिएका उपायहरु काम नलाग्ने हुन सक्छ । राज्य दिग्भ्रमित हुनसक्छ । किनकी नेपाल जस्तो देशमा पत्रकारिताले उद्यम मात्र गर्देन राज्यलाई समेत गाईड गरिरहेको यथार्थ हामीले भुल्न हुदैंन । ।
समाजमा भुखमरी छ , समस्या छ , गरिब छन् र तिनका क्रन्दन छ । पीडितहरुको बहुसंख्यक समुदाय छ । त्यस्तोलाई पूरै काट् गर्ने र विजयी वा सफल गिनेचुनेहरुका लागि मात्र लेखिएको जस्तो देखिने यस्तो प्रवृत्तिलाई केहिले टाईकुन पत्रकारिता पनि भन्ने गरेकाछन् । नेपालमा मुलधारका मीडियाले त्यहि भूमिका प्रत्यक्ष/ अप्रत्यक्ष निभाईरहेकाछन् भनि आलोचना खेपिरहेको सन्दर्भमा सकारात्मकताको वकालतले त्यसलाई प्रश्रय दिन खोजेको होकि भन्ने भ्रम पैदा गर्ने डर रहन्छ । त्यसले समग्र पत्रकारिता जगतमाथि नै सत्ता सापेक्षताको आरोप लाग्ने डर रहन्छ । यो पत्रकारिता जगतकै निम्ति अशुभसिद्ध हुनसक्छ ।

आन्दोलनकारीका कोपभाजन हुनु परेका घट्नालाई हामीले उग्र जमातको  प्रचारवाजी तिगडमकोरुपमा मात्र हेरिनु हुदैन । कतै न कतै हामीले अख्तियार गरेको नीतिका कारण मीडियामाथि आक्रोश पोखिईने गरिएकोछ । त्यसैले मीडियाले लिने, खेल्ने भूमिका सधैं महत्वपूर्ण हुने गर्दछ ।
यद्यपि सकारात्मक समाचारले समाजमा राम्रो सन्देश नदिने होईन तर त्यसले घट्नाको एउटा पाटो मात्र देखाउने हुँदा यस्तो बिषयगत एंगलिङ पत्रकारिताले समग्र समाजको प्रतिनीधित्व गर्न सक्दैन भनेको मात्र हुँ। तर त्यसो भन्दैमा नयाँ प्रवृतिलाई नसमात्ने कुरा पनि हुदैन । हिमालले सदा पत्रकारिताको नयाँ प्रवृतिहरुलाई फलो गरिरहेको हुनाले यसलाई पनि परिक्षणको रुपमा हेर्न खोजिएको होला । तर यसो गर्दा उसले अहिले सम्म खेलेको वाचडगको भूमिका चाहिं सकुंचित नहोस् भन्नेमा सम्पादकिय टिम अत्यन्त चनाखो हुन जरुरी छ ।

नयाँ हिमालमा यस्ता समाचारलाई भिज्यूअल मार्फत प्रष्ट बुझाउने प्रयास  गरिएको छ । यद्यपि साप्ताहिक स्वरुपमा आएको हिमालका अगाडि सानो चुनौती भने छैन । बजारमा अर्को विग मीडिया हाउसको सहप्रकाशन नेपाल साप्ताहिकले लामो समय देखी बजार ओगटेर बसिरहेकोछ । हिमालले उसंग सिधै प्रतिस्प्रर्धा गर्नुपर्ने हुन्छ । तर मुख्य चुनौती त्यो होईन ।मीडिया हाउस र बजार अर्थशास्त्रीहरुको भनाईमा नेपाली बजार अहिले विभिन्न कारणले कमजोर छ । विज्ञापनको भरमा टिक्ने पत्रिकाले बजारबाट विज्ञापन नै पाउन सकिरहेका छैनन् । दर्जन जति ठुला दैनिक पत्रिका निस्किरहेकाछन् । त्यतिकै मात्रामा मुलधारका समाचार टेलिभिजन बजारमा प्रतिस्पर्धा गरिरहेकाछन् । देशभर ३ सय जति एफएमको ठुलो तछाडमछाड चलि नै रहेकोछ । स्थानीय रुपमा चलिरहेका दर्जनौ टेलिभिजन, पत्रिकाहरुको त गनिसाध्य छैन ।
यति मात्र होईन विश्वभरबाट चल्ने सयौं वेवपोर्टलले छिनछिनमा समाचार पस्कने गरेकाछन् । फेसबुक, ट्विटर, युट्युव  जस्ता सामाजिक संजालहरुको वर्चश्वले विश्वलाई टोलमा सिमित पारिदिएकोछ । भनिन्छ, अछामबाट काठमाण्डु भन्दा छिटो समाचार न्युयोर्क पुगिसकेकोहुन्छ । यस्तो गतिमा दौडिरहेको समाचार कारोबारमा समाचारपत्रहरुलाई जुध्न असाध्यै कठिन छ । नेपालमा मात्र होईन विश्वभर देखिएको चुनौती हो, यो ।

हरेकका हातमा स्मार्टफोन र ईटरनेट पुग्न थालेको सन्दर्भमा पुरानो धर्राको पत्रकारिता टिक्न अब कठिन छ । सयौं बर्षको इतिहास रचेका विश्वका मीडियाहाउसहरुले  ठुलठुला प्रिन्ट बन्द गरेर अनलाईनमा गैरहेको कारण नै त्यहि हो । सेकेण्ड सेकेण्डमा समाचारले अपडेट भैरहेको समाजलाई प्रिन्टमा समाचार पस्केर उद्यम गर्छु भनि सोंच्नु अब मुर्खता मात्र हुनेछ । धन्य छ, नेपालमा रहेको बेरोजगारी दरका कारण मान्छेहरुसंग फुर्सद छ र उनीहरु पत्रिका किनेर तै बिसेक पढिरहेकाछन् । यसमा लोडसेडिङले पनि थप मद्दत दिईरहेकोछ । भनौं, उनीहरुका अगाडि बाध्यता जस्तै छ । तर यी त अस्थायी हुन् ।

विज्ञापनको बजार सिमित छ । उद्यम नै छैन भन्दा पनि हुन्छ । उद्योगधन्दा नभएपछि बहुराष्टिय कम्पनीका  खुद्रा उपशाखाहरुले दिने बिज्ञापनले यत्रो ठुलो मीडिया हाउस सोझो तरिकाले टिक्नै सक्दैन ।
हिमाल साप्ताहिकले यी सब चुनौतीका वावजुद रिस्क उठाउने धृष्टता गरेकोछ । पहिलो अंकमा गरिएजस्तो देशको अर्थतन्त्र सम्हालिन्छ भन्ने आशका साथ । तर राजनीति ठिक ठाँउमा नआँउदासम्म अर्थतन्त्रले फड्को मार्न संभव नै छैन भन्ने यथार्थ पनि टिमलाई थाहा नभएको होईन । यसको संकेत अहिले चाहिं कम्तिमा देखिएकोछैन । तर हिमालले देखाए जस्तै दश बर्षपछिको समृद्ध नेपालमा हिमाल साच्चिकै जाजल्यमान भई उदाउन सकोस् ।  अनेक अप्ठ्याराहरुका वावजुद हिमाल टिमले उठाएको साहसिक कदमलाई स्वागत गर्दे नया परिक्षण र नया स्वादले पाठकको मन जितोस् भन्ने शुभकामना दिन चाहन्छु ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s